देउवा दम्पत्तिको नाममा पक्राउ पुर्जी : गैरकानुनी सम्पत्ति आर्जनको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम जिल्ला अदालत काठमाडौँले उनीहरू विरुद्ध पक्राउ अनुमति दिएको हो ।

अदालतबाट पक्राउ अनुमति प्राप्त भए पनि देउवा दम्पत्ति हाल नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको स्रोतले जनाएको छ । गत २१ फागुनको चुनावअघि नै स्वास्थ्य उपचारको बहानामा देउवा दम्पत्ति सिंगापुर गएका थिए । उनीहरू त्यहाँबाट हङकङतर्फ लागेको समाचारहरू सार्वजनिक भएका छन् ।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । सो क्रममा घरभित्र जलेका पैसाका नोटहरू भेटिएको विषय बाहिरिएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेको थियो ।

विभागले मुचुल्का उठाएर सुरु गरेको अनुसन्धानलाई अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अगाडि बढाइरहेको छ ।

सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया तीव्र पारेसँगै पूर्वप्रधानमन्त्री देउवामाथि कानुनी फन्दा कसिने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *