प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट्दै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्दै छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसहित हुने यो सामूहिक संवादले नेपालको कूटनीतिक मर्यादामा नयाँ मापदण्ड स्थापित गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले बताए ।
यसअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै विदेशी राजदूतहरूले पालैपालो एक्लाएक्लै भेट्ने परम्परा रहेको थियो । तर वर्तमान सरकारले सबैलाई एकैपटक भेटेर नयाँ अभ्यासको सुरुवात गर्न लागेको हो ।
भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ । यो भेटलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
छलफलमा परराष्ट्र सचिव अमृतबहादुर राईका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहने बताइएको छ ।
