८८ हजार नेपालीको विवरण सङ्कलन, उद्धार गर्ने सरकारको तयारी
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वमा जारी द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्याङ्क सङ्कलन कार्य तीव्र पारिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएको जानकारी दिए।
द्वन्द्वग्रस्त क्षेत्रबाट तुरुन्तै नेपाल फर्कनुपर्ने परिस्थिति रहेका नागरिकहरूका लागि सरकारले आवश्यक प्रबन्ध मिलाएको मन्त्री खनालले बताए। यसका लागि परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरी उडान सहज बनाउन सहजीकरण गरिसकेको छ।
“पछिल्ला केही दिनमा उताबाट आउने फोनहरूको सङ्ख्या घट्दै गएको छ, तर पनि जोखिमपूर्ण अवस्थामा रहेकाहरूलाई ल्याउन हामी तयारी अवस्थामा छौँ,” उनले भने।
मन्त्री खनालका अनुसार नेपाल एयरलाइन्सले मध्यपूर्व क्षेत्रमा उडान सङ्ख्या थपेको छ। हाल दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरब लगायतका अन्य क्षेत्रमा पनि थप उडान व्यवस्थापनका लागि प्रयास भइरहेको छ।
द्वन्द्वका कारण आपूर्ति प्रणाली, नेपालीहरूको रोजगारी र समग्र आर्थिक क्षेत्रमा परेको प्रभावबारे विस्तृत अध्ययन गर्न सरकारले कार्यदल समेत गठन गरेको उनले जानकारी दिए। सरकारले आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर उद्धार कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।
