‘रास्वपाले पाएको मत अंकगणित र एआई होइन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले आफ्नो पार्टीले पाएको मत केवल अंकगणितीय परिणाम नभई जनचेतनाको पुनर्जागरणबाट जन्मिएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्राप्त गरेको झण्डै दुई तिहाइ बहुमत कुनै आकस्मिक घटना वा कृत्रिम प्रभाव नभएको उल्लेख गरिन्।

“आजको सदन केवल अंकगणितको परिणाम होइन, यो जनचेतनाको पुनर्जागरणबाट जन्मिएको हो,” सांसद डाँगीले भनिन्, “रास्वपाले प्राप्त गरेको बहुमत कुनै एआईको खेल होइन, बरु लामो समयदेखि सञ्चित जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति हो।” उनले जनताको मतको सम्मान गर्दै जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

आफूहरू शासन गर्न नभई सेवा गर्न आएको स्पष्ट पार्दै उनले हरेक निर्णयमा यही भावना प्रतिबिम्बित हुनुपर्ने बताइन्। डाँगीले सम्पूर्ण राजनीतिक दलहरूलाई राष्ट्रिय हितका लागि सहकार्य गर्न आग्रह गरिन्।

विचारमा भिन्नता स्वाभाविक भए पनि देशको विकासका लागि सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। अबको राजनीति आरोप-प्रत्यारोपमा मात्र अल्झिनु नहुने भन्दै उनले स्वस्थ बहस र परिणाममुखी काममा केन्द्रित हुन सबैलाई अनुरोध गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *