एसईई : हरेक बिहान गेटमा उभिएर आशीर्वाद दिँदै शिक्षक

ललितपुर। देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ। परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त रहँदा यससँग जोडिएका आशा, चिन्ता र भावनात्मक सम्बन्धका दृश्यहरू पनि बाहिर आउन थालेका छन्।

यस्तै एउटा मनछुने दृश्य ललितपुरको धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको स्नेहबाट प्रष्ट हुन्छ। विद्यालयका भाइस प्रिन्सिपल रामप्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिन्छन्। विद्यार्थीहरू भित्र छिर्नुअघि उनले मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिने गरेका छन्।

उनका यी शब्दहरू केवल शुभकामना मात्र नभएर विद्यार्थीका लागि आत्मविश्वास जगाउने ऊर्जा समेत बनेका छन्। जेम्स स्कूलको परीक्षा केन्द्र लगनखेलस्थित नमुना मच्छिद्र माध्यमिक विद्यालयमा रहेको छ।

बस्यालका लागि विद्यार्थीहरू केवल विद्यार्थी मात्र नभएर आफ्नै छोराछोरी सरह हुन्। “यो त परिवारजस्तै हो, उनीहरू आफ्नै छोराछोरी जस्तै लाग्छन्,” उनले भने, “उनीहरूले कस्तो लेख्लान् भन्ने चिन्ता लागिरहन्छ, मैले बोलेका केही शब्दले उनीहरूलाई हिम्मत मिल्ला कि भन्ने महसुस हुन्छ।”

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध कक्षाकोठामा मात्र सीमित हुँदैन। यो विश्वास, माया र मार्गदर्शनमा आधारित हुन्छ। कक्षा १ देखि १० सम्म शिक्षककै छहारीमा हुर्कने विद्यार्थीलाई शिक्षकले किताबी ज्ञानका साथै जीवनका मूल्य र अनुशासन समेत सिकाउँछन्। जसरी अभिभावक आफ्ना सन्तान सफल भएको देख्न चाहन्छन्, शिक्षकहरू पनि विद्यार्थीको सफलतामा गर्व गर्छन्।

एसईईजस्तो महत्त्वपूर्ण समयमा यो सम्बन्ध अझ गहिरो बन्ने गर्दछ। शिक्षकको माया र विश्वासले विद्यार्थीलाई परीक्षा हलभित्र आत्मविश्वासी बनाउन मद्दत पुग्छ। शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति मात्र नभएर भविष्य निर्माण गर्ने सच्चा मार्गदर्शक हुन् भन्ने उदाहरण बस्यालको यो कार्यले पुष्टि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *