नयाँ शैक्षिक सत्र: पाठ्यपुस्तक वितरण धमाधम

काठमाडौँ। आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक वितरणलाई तीव्रता दिएको छ।

केन्द्रले चैत १६ गतेदेखि बिक्री सुरु गरेकोमा पहिलो पाँच दिनमै देशभर २५ लाख थान पाठ्यपुस्तक बिक्री भइसकेको जनाएको छ।

शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने लक्ष्यका साथ उत्पादन सकेर वितरण थालिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए।

उनका अनुसार केन्द्रका विभिन्न प्रादेशिक कार्यालयहरूमार्फत देशका दुर्गम क्षेत्रसम्म पुस्तक पठाउने काम धमाधम भइरहेको छ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय र छापाखानाको आकस्मिक निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले पुस्तक उत्पादनको अवस्था र पछिल्लो प्रगतिबारे जानकारी लिएका थिए। सो अवसरमा केन्द्रले यस वर्ष पाठ्यपुस्तकको कुनै अभाव हुन नदिने र समयमै सबै विद्यालयमा पुस्तक पुग्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *