ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीका तर्फबाट लिखित जवाफ पेश भइसकेकाले आज दुवै पक्षका कानुन व्यवसायीबीच बहस हुने भएको हो। अध्यक्ष ओली र नेता लेखकलाई यही चैत १४ गते उनीहरुकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदा लेखकले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। दुवै रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारका नाममा पक्राउ गर्नुको कारण माग गरेको थियो।

गत भदौ र असोजमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको सरकारको भनाइ छ।

एमाले र नेपाली कांग्रेसले भने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाउँदै आएका छन्। आजको सुनुवाइपछि उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने वा रिहा गर्ने भन्ने विषयमा अदालतले आदेश दिने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *