सूर्योदयमा सुमो दुर्घटना: ८ जना घाइते
इलाम । सूर्योदय नगरपालिका-९ ढोरेस्थित बरबोटे नयाँ बजार भित्री सडक खण्डमा शनिबार अपराह्न सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नयाँबजारबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ४०१६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको हो ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फिक्कलबाट प्रहरी नायव निरीक्षक विष्णु सापकोटाको कमाण्डमा टोली खटिएर घाइतेहरूको उद्धार गरेको थियो । सुमोमा चालकसहित १० जना सवार रहेकामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
घाइते हुनेहरूमा सूर्योदय-८ का ५३ वर्षीय राज कुमार राई, ४५ वर्षीया कल्पना गिरी, ५९ वर्षीय प्रेम बहादुर गुरुङ र वडा नं ९ का ६२ वर्षीय श्याम बहादुर राई रहेका छन् । उनीहरूको फिक्कलस्थित श्रीनिधि अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोही वडाका ३९ वर्षीया मिना क्षेत्री, ४५ वर्षीया पुनम भण्डारी, १९ वर्षीय अपसन क्षेत्री र ७३ वर्षीय गोपाल क्षेत्री पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई फिक्कल अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि झापातर्फ पठाइएको छ ।
प्रहरीले सुमो चालक सूर्योदय-८ बस्ने ४२ वर्षीय सुरेन बस्नेतलाई नियन्त्रणमा लिएको छ । चालक सकुशल छन् । प्रारम्भिक जाँचका क्रममा चालकले मादक पदार्थ सेवन (मापसे) गरेको र सवारी चालक अनुमति पत्र साथमा रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
