कतै हावाहुरी, कतै वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। पहाडी र हिमाली भेगमा हुने वर्षा र हिमपातका साथै तराईमा चल्ने हावाहुरीबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
