एसईई: प्रश्नपत्र बाहिर ल्याई चिट चोराएको आरोपमा ३ जना पक्राउ
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिर ल्याई विद्यार्थीलाई चिट चोराएको आरोपमा प्रहरीले रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १८ देखि २० वर्ष उमेर समूहका युवाहरू रहेका छन्।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका-७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका-८ का १८ वर्षीय धीरज साह छन्।
उनीहरूले आज सञ्चालित परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बाहिर निकालेर अवैध रूपमा उत्तर आपूर्ति गरी चिट चोराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ परेका तीनै जनामाथि शिक्षा ऐन र प्रचलित कानुन अनुसार आवश्यक अनुसन्धान अघि बढाएको छ। परीक्षाको मर्यादा विपरीत कार्य गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
पछिल्लो समय प्रविधिको प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने गिरोह सक्रिय हुन सक्ने भन्दै परीक्षा केन्द्रहरूमा सुरक्षा र निगरानी थप कडा पारिएको छ।
