डीपी अर्याल बने सभामुख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
संघीय संसद् सचिवालयले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समयावधिमा अर्यालको मात्रै उम्मेदवारी परेको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले दिएका छन् ।
सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समर्थक रही अर्यालले उम्मेदवारी दर्ता गराएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित भएको हो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
