‘जेनजी’ आन्दोलन बाह्य प्रभावको उपज : कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन नेपालको आन्तरिक कारणले मात्र नभएको दाबी गरेका छन्।

बिहीबार कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै उनले उक्त आन्दोलनलाई ‘अर्गानिक’ मान्न नसकिने र यसका पछाडि बाह्य शक्तिको हात रहेको प्रशस्त प्रमाण रहेको जिकिर गरे।

नेता कोइरालाले अहिलेको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हुनुमा कांग्रेस र एमालेका कमजोरी पनि एउटा कारण रहेको स्वीकार गरे।

तर उनले विश्वको बदलिँदो राजनीतिक परिस्थितिलाई पनि गम्भीरतापूर्वक केलाउनुपर्ने आवश्यकता औंल्याए। ‘जेनजी’ आन्दोलनलाई कतिपयले स्वाभाविक र युवाहरूको स्वस्फूर्त विद्रोह भने पनि आफू त्यो कुरा स्वीकार्ने पक्षमा नरहेको उनले स्पष्ट पारे।

पार्टीका कतिपय साथीहरूले यसलाई स्वाभाविक आन्दोलन भने पनि यो पूर्ण रूपमा ‘इन-अर्गानिक’ भएको उनको तर्क छ। यद्यपि उनले कांग्रेस र एमालेबाट विगतमा धेरै ठूला गल्ती र कमजोरीहरू भएको कुरालाई भने नकारेनन्। आफ्ना कमजोरी सुधार्नुको सट्टा दुवै ठूला दलका नेताहरू आफ्नै नेतृत्वविरुद्ध लागिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

आफ्नै पार्टीभित्र र एमालेमा पनि देखिएको आन्तरिक विवादले गर्दा बाह्य शक्तिहरूलाई खेल्ने ठाउँ मिलेको कोइरालाको विश्लेषण छ। उनले ऐतिहासिक पृष्ठभूमिलाई बिर्सेर अरूको इसारामा चल्ने प्रवृत्ति पार्टीका लागि घातक हुने चेतावनीसमेत दिए। उनले पार्टी पंक्तिलाई बाह्य षडयन्त्र बुझेर एकताबद्ध हुन आह्वान गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *