इलाममा विद्यार्थीमाथि कुटपिट र अमानवीय व्यवहार, शिक्षक पक्राउ

इलाम। इलामको देउमाई नगरपालिकास्थित भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि निर्घात कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा एक शिक्षक र विद्यालयका बस चालक पक्राउ परेका छन्।

मंगलबारेमा रहेको सो विद्यालयका कक्षा ७ का विद्यार्थीलाई अपमानजनक व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले सहायक प्रशिक्षक अंकित दमाई र चालक सुशन मगरलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी कुलदीप चन्दका अनुसार पीडित विद्यार्थीलाई मंगलबारे बजारकै एक होटलमा बोलाएर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सामाजिक सञ्जालमा भएको सामान्य विवादलाई लिएर शिक्षक र चालकले विद्यार्थीलाई डर देखाउने, धम्क्याउने र शारीरिक यातना दिएको पाइएको छ। घटनासँग सम्बन्धित भिडियोसमेत बाहिरिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको बताएको छ।

पक्राउ परेका अंकित विद्यालयको प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङका सहायक प्रशिक्षक हुन्। विद्यालय जस्तो संवेदनशील क्षेत्रमा आबद्ध व्यक्तिहरूबाटै विद्यार्थीमाथि यस्तो अमानवीय व्यवहार भएपछि स्थानीय र अभिभावकहरू आक्रोशित बनेका छन्।

दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै अभिभावकहरूले उजुरी दिएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *