जेनजी आन्दोलनबारे अध्ययन गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूको विस्तृत अध्ययनका लागि गठित समितिलाई पूर्णता दिएको छ।
बिहीबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अध्ययन गरी सुझावसहितको राय पेस गर्न समितिका सदस्यहरू चयन गरेको जानकारी दिएको हो।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित यस अध्ययन समितिमा कानुन र सामाजिक क्षेत्रका विज्ञहरूलाई समेटिएको छ। समितिका सदस्यहरूमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आरसी) र युवा अभियन्ता यजश्वी राई छन्।
समितिले सरकारी आयोगको प्रतिवेदनलाई मसिनो गरी अध्ययन गरेर सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको छ। कांग्रेसले उक्त आन्दोलनका क्रममा भएका घटनाहरूको वस्तुगत र यथार्थपरक अध्ययन गरी पार्टीको आधिकारिक धारणा तय गर्न यो कदम चालेको जनाएको छ।
युवा पुस्ताको सक्रिय सहभागिता रहेको सो आन्दोलनले उठाएका विषय र त्यसक्रममा विकसित भएका परिस्थितिको गहिरो विश्लेषण गरी भविष्यको कार्यदिशा तय गर्न समितिले दिने राय महत्त्वपूर्ण हुने कांग्रेसको विश्वास छ।
