ओलीसँग अस्पतालमै बयान सुरु, लेखकको बयान सकियो
काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले त्रिवि शिक्षण अस्पतालमै पुगेर बयान लिन सुरु गरेका हुन्।
पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएका ओलीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। चिकित्सकहरूले उनलाई अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि प्रहरीले अस्पतालमै बयान लिने व्यवस्था मिलाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जाँचबुझ आयोगले किटान गरेका विषयहरूमा केन्द्रित रहेर आजदेखि बयान लिन थालिएको जानकारी दिए।
ओलीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
सोही प्रकरणमा ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको भने बयान प्रक्रिया पूरा भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरी काफ्लेले लेखकको बयान सकिएको पुष्टि गरे।
अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरकारी वकिल र प्रहरीको टोलीले ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बयान प्रक्रिया अघि बढाइरहेको छ।
आन्दोलनका क्रममा भएको दमन र गोली प्रहारको घटनामा तत्कालीन सरकारको नेतृत्व र गृह प्रशासनको भूमिकाबारे अनुसन्धान केन्द्रित छ।
