रास्वपाले डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डिपी अर्याललाई अघि सार्ने निर्णय गरेको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो।
बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई संसदीय दलले सर्वसम्मत रूपमा पारित गरेको छ।
रास्वपा संसद्मा सबैभन्दा ठुलो दलका रूपमा स्थापित भएकाले अर्यालको उम्मेदवारीलाई निकै महत्त्वका साथ हेरिएको छ।
चैत २२ गते बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यतालिका छ। सोही प्रक्रिया अन्तर्गत रास्वपाले अर्याललाई मैदानमा उतार्न लागेको हो।
अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका अनुभवी नेता हुन्। दलको यो निर्णयसँगै अब अन्य राजनीतिक दलहरूसँगको समन्वय र चुनावी प्रतिस्पर्धाको तयारीमा रास्वपा केन्द्रित हुने देखिएको छ।
