संसद बैठक चैत २२ गते बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक आगामी चैत २२ गते बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन्।
प्रतिनिधिसभाको यो दोस्रो बैठकमा सभामुख चयनको औपचारिक प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ। “प्रतिनिधिसभाको अर्को बैठक २०८२ साल चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ,” ज्येष्ठ सदस्य केसीले सदनमा घोषणा गरे।
बिहीबारको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्दै जनमतको सम्मान र देशको समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए।
अब बस्ने बैठकले संसद्को नयाँ नेतृत्व चयन गर्ने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ। निर्वाचनपछिको पहिलो अधिवेशन भएकाले सभामुख र उपसभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।
