‘कालकूट विष पिउन तयार भएर उम्मेदवार बनेको हुँ’

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा पराजित भएपछि सांसद सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पद प्राप्ति नभई पार्टीभित्र नयाँ ऊर्जा र आशा जगाउनु रहेको स्पष्ट पारेका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सँगको प्रतिस्पर्धामा पराजित भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

सुहाङले आफ्नो उम्मेदवारीलाई ‘हतारो भयो’ भनी गरिएको टिप्पणीको जवाफ दिँदै अहिलेको असाधारण संकट चिर्न साधारण प्रयासले मात्र सम्भव नहुने बताए।

“हाम्रो ७६ वर्षे कम्युनिष्ट इतिहासकै कठिन मोडमा पार्टी उभिएको छ,” सुहाङले भने, “नियमित र कर्मकाण्डी अभ्यासले मात्रै यो आन्दोलनलाई पुनर्जीवन दिन सकिँदैन। मैले मैनबत्ती बनेर जल्न र कालकूट विष पिउन तयार भएरै यो कदम चालेको हुँ।”

नेपाली राजनीतिमा देखिएको पछिल्लो परिवर्तनलाई सम्बोधन गर्न एमालेको विचार, संगठन र कार्यशैलीमा आमूल परिवर्तन हुनुपर्नेमा उनले जोड दिए।

युवाको ऊर्जा र अग्रजको अनुभवको सही फ्युजन नभए पार्टी अघि बढ्न नसक्ने उनको तर्क छ। प्राविधिक रूपमा चुनावी परिणाम जे जस्तो आए पनि पार्टीलाई जीवन्त राख्ने आफ्नो अभियान जारी रहने उनले बताए।

उनले आफ्ना समर्थक र कार्यकर्ताहरूलाई पार्टी नेतृत्व वा प्रक्रियाप्रति सामाजिक सञ्जालमा कुनै पनि नकारात्मक वा आवेगपूर्ण टिप्पणी नगर्न विनम्र अनुरोध समेत गरेका छन्।

यसलाई हारका रूपमा नभई पार्टीलाई नयाँ जीवन दिने अभियानको सुरुवातका रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी दिनमा थप विवेक र संयमका साथ पार्टी हितमा लाग्ने प्रतिबद्धता जनाए। निर्वाचित नेता बादललाई बधाई दिँदै उनले पार्टीभित्रको निराशा चिर्न यस्ता लोकतान्त्रिक अभ्यासहरू भइरहनुपर्ने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *