‘दल भिन्न भए पनि देश एउटै हो, कसैले रगत बगाउन नपरोस्’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिक दलहरू भिन्न भए पनि देश एउटै भएको उल्लेख गर्दै अब कसैले पनि रगत बगाउन नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा सांसद आङ्देम्बेले नेपाली कांग्रेसको ऐतिहासिक नेतृत्व र सिद्धान्तको चर्चा गर्दै निर्वाचनबाट कांग्रेस दोस्रो दल बने पनि यसले बोकेको विचार अझ सबल बनेको दाबी गरे। “कुनै बेला कांग्रेसको विरोध गर्ने मित्रहरू नै आज नयाँ दल खोलेर सबैभन्दा ठुलो शक्तिका रूपमा संसद्मा हुनुहुन्छ, यसले कांग्रेसले देखाएको लोकतान्त्रिक बाटोकै सफलता पुष्टि गर्छ,” उनले भने। उनले ‘जेनजी’ विद्रोहले उठाएका जायज मुद्दाहरूलाई निष्कर्षमा पुर्याउन कांग्रेस प्रतिबद्ध रहेको र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
आङ्देम्बेले गत भदौ २३ र २४ गतेको घटना र त्यसपछि गठित छानबिन आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। “आज हामी जहाँ बसिरहेका छौँ, यो हाम्रो संसद् भवन होइन। हाम्रो संसद् भवन त भदौ २४ गते खरानी भयो,” उनले स्मरण गराउँदै भने, “त्यो खरानीलाई सम्झेर संकल्प गरौँ कि भविष्यमा कसैले यो देशलाई खरानी बनाउने आँट नगरोस्।” उनले सिंहदरबार र संसद् भवन जल्नुका पछाडिको कारणबारे सरकारको ध्यानाकर्षण गराउँदै भदौ २३ को दमन र २४ को ध्वंस दुवैलाई निष्पक्ष रूपमा केलाउनुपर्ने माग गरे।
उनले सरकारद्वारा गठित जाँचबुझ आयोगको नियतमाथि समेत शङ्का व्यक्त गरे। आयोगले भदौ २३ को घटनामा कारबाही सिफारिस गर्ने तर २४ गतेको विध्वंसबारे ‘समय नपुगेको’ बहाना बनाउनु गलत भएको उनको तर्क थियो। “२३ गतेको दमन देख्नेले २४ को ध्वंस पनि देख्नुपर्छ। दोषी कोही उम्किनुहुन्न र निर्दोष कोही फस्नुहुन्न भन्ने कांग्रेसको स्पष्ट मान्यता छ,” उनले भने। आङ्देम्बेले आयोगको प्रतिवेदन सरकारले आधिकारिक रूपमा सार्वजनिक गर्नुपर्ने र कानुनको मर्यादा राखेर अघि बढ्नुपर्ने सुझाव दिए।
