देश जलाउनेहरूलाई महानायक बनाइयो : थापा
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रति कडा आपत्ति जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रियता र समृद्धिका नायकहरूलाई राजनीतिक प्रतिशोधका आधारमा अपराधीका रूपमा स्थापित गर्न खोजिएको आरोप लगाए।
नेता थापाले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका घटनालाई लिएर छानबिन आयोगको प्रतिवेदनको आधारमा गरिएका यी गिरफ्तारीहरूलाई ‘राज्य आतङ्क’ को संज्ञा दिए। “समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गर्ने प्रपञ्च रचिएको छ,” उनले भने, “अदृश्य शक्तिहरू र प्रविधिका माध्यमबाट देशलाई समृद्धिको दिशामा लैजाने पात्रहरूलाई बदनाम गर्ने काम भइरहेको छ।”
उनले विशेषगरी भदौ २४ गते भएको विध्वंस र आगजनीका घटनामा प्रतिवेदन मौन रहेको तर राज्यका नेतृत्वकर्ताहरूलाई मात्र निसाना बनाइएकोमा प्रश्न उठाए। थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको विजय र हालको राजनीतिक परिस्थितिलाई लिएर व्यङ्ग्य गर्दै यसमा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की र गौरीबहादुर कार्की आयोग जस्ता संस्थाहरूको ‘जादुमय’ भूमिका रहेको टिप्पणी गरे।
उनले राजनीतिक नेतृत्वमाथि दमनचक्र चलाएर देशमा कुन उद्देश्य पूरा गर्न खोजिएको हो भन्दै सरकारलाई प्रश्न गरे। एमालेले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको तत्काल रिहाइको माग गर्दै संसद्मा आफ्नो कडा अडान प्रस्तुत गरेको छ। आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधि र राज्यका प्रमुख अङ्गहरूमाथि गरिएको आक्रमणको वास्तविक छानबिन हुनुपर्नेमा उनले जोड दिए।
