एसईई उत्तरपुस्तिका परीक्षण सुरु, एक महिनाभित्रै नतिजा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण आजैदेखि सुरु भएको छ। बिहीबार पहिलो दिनको अंग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएलगत्तै उत्तरपुस्तिका जाँच्ने काम अघि बढाइएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले पहिलो दिनको परीक्षा सकिएसँगै धेरै स्थानमा उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको जानकारी दिए। उनका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको परीक्षा सकिएपछि प्राप्त रिपोर्टका आधारमा तत्कालै काम थालिएको हो। परीक्षा भएको तीन दिनभित्रै परीक्षणको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसपटक उत्तरपुस्तिका परीक्षणका लागि विशेष व्यवस्था मिलाइएको छ। केन्द्राध्यक्षको नेतृत्वमा हुने यस प्रक्रियामा जुन विद्यालयका विद्यार्थी हुन्, सोही विद्यालयका शिक्षकले उनीहरूको उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन्।

निष्पक्षताका लागि एउटा विद्यालयको शिक्षकले अर्को विद्यालयका विद्यार्थीको कापी जाँच्ने गरी रोस्टर तयार पारिएको नियन्त्रक अधिकारीले बताए।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षण सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। यस वर्षको एसईईका लागि देशभरबाट जम्मा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका छन्।

चैत २९ गतेसम्म सञ्चालन हुने यस परीक्षालाई व्यवस्थित र पारदर्शी बनाउन देशभरका परीक्षा केन्द्रहरूमा विशेष सावधानी अपनाइएको छ।

एसईईको इतिहासमै यसपटक ‘जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण’ को अवधारणालाई समेत कार्यान्वयनमा ल्याइएको छ, जसले नतिजा छिटो प्रकाशन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *