नयाँ सरकार गठनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदै
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को पहिलो अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आज दिउँसो २ः०० बजेका लागि आह्वान गरेका हुन्।
आजको विशेष बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। चैत १६ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानबमोजिम आजका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
बैठकमा राष्ट्रपतिले बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी सदनलाई औपचारिक रूपमा गराइनेछ। निर्वाचनपछिको यो पहिलो बैठक भएकाले यसलाई राजनीतिक र संवैधानिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ।
संसद्को कार्यसञ्चालनका लागि सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन पनि आजै गरिनेछ। प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार ज्येष्ठ सदस्य केसीले बैठकको अध्यक्षता गर्नका लागि निश्चित सांसदहरूलाई मनोनयन गर्ने कार्यसूची छ।
