शेखरको दम्भ : ‘कसैसँग झुकिँदैन’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निश्चित डिजाइनअनुसार कांग्रेस सिध्याउन चौतर्फी प्रयोग भइरहेको दाबी गरेका छन्।
बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र र बाहिरबाट भइरहेका गतिविधिप्रति कडा आक्रोश पोखेका हुन्।
बैठकमा नेता कोइरालाले संस्थापन पक्षसँग सहमति गर्न आफ्नो समूह सधैँ खुला रहे पनि कसैका सामु झुकेर भने सम्झौता नगर्ने स्पष्ट पारे। उनको यो अभिव्यक्ति विशेष गरी महामन्त्री गगन थापाप्रति लक्षित रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
पार्टीभित्रको शक्ति सन्तुलन र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर कोइरालाले आफ्नो समूहको ‘दम्भ’ र अडान प्रष्टसँग राखेका हुन्।
कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिले मुलुकमा नियन्त्रित लोकतन्त्र (कनट्रोल्ड डेमोक्रेसी) को अभ्यास गर्ने प्रयास भइरहेको छ। हामी सहमति गर्न तयार छौँ, तर त्यो आत्मसमर्पण शैलीमा हुनुहुँदैन। कांग्रेसलाई नै समाप्त पार्ने डिजाइनअनुसार विभिन्न प्रयोगहरू भइरहेका छन्, जसलाई हामीले चिर्नु आवश्यक छ।’
पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेका बेला कोइरालाको यो कडा टिप्पणी सार्वजनिक भएको हो।
उनले पार्टीलाई जोगाउन आफ्नो समूहले कुनै पनि दबाब वा प्रभावमा नपरी दृढताका साथ अघि बढ्ने संकल्प समेत दोहोर्याएका छन्। खड्का समूहको यो बैठकले आगामी दिनमा संस्थापन पक्षसँग कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गरेको बुझिएको छ।
