एसईई भोलिदेखि, उत्तरपुस्तिका परीक्षा सम्बन्धित केन्द्रबाटै परीक्षण गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ।

परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजनाअनुसार बोर्डले जहाँ परीक्षा भएको हो, त्यहीँबाट उत्तरपुस्तिका जाँच्ने तयारी गरेको हो।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै एक महिनाभित्र नतिजा निकाल्न निर्देशन दिएका थिए।

सोही निर्देशन पालना गर्न बोर्डले यस्तो निर्णय लिएको एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। मन्त्रालयको निर्देशनअनुसार छिटो नतिजा ल्याउन परीक्षा केन्द्रमै परीक्षण केन्द्र कायम गर्ने निर्णय भएको उनले जानकारी दिए।

कुनै केन्द्रमा शिक्षक अभाव भएमा वा सुरक्षाको चुनौती देखिएमा शिक्षा विकास तथा समन्वय एकाइले समन्वय गरी परीक्षण केन्द्र अन्यत्र सार्न सक्ने व्यवस्था समेत गरिएको छ।

विगतका वर्षहरूमा एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पुर्‍याएर परीक्षण गर्ने गरिए पनि यसपालि भने स्थानीय स्तरमै यो काम हुनेछ।

यसअघि सामान्यतया असार दोस्रो सातातिर मात्रै एसईईको नतिजा आउने गर्दथ्यो। नतिजा ढिलो हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने र ब्रिज कोर्सका नाममा अनावश्यक तनाव दिने गरिएको गुनासो आउने गरेको थियो। यस पटक मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम सञ्चालनमा समेत रोक लगाउने निर्णय गरिसकेको छ।

यसैबीच, भोलि चैत १९ गते बिहीबारदेखि देशभर एसईई परीक्षा सुरु हुँदैछ। शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका कारण केही दिन पछि धकेलिएको हो। परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्, जसमा जापानको एक केन्द्र समेत समावेश छ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार ७७ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको छ भने केन्द्राध्यक्षहरू पनि कार्यक्षेत्रमा खटिएका छन्।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन्। जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिने बोर्डले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *