एमालेले सरकारी दमनको प्रतिवाद गर्ने
काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारको कदमविरुद्ध आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले अध्यक्षको गैरकानुनी गिरफ्तारीविरुद्ध पार्टीले सशक्त रूपमा आवाज उठाउने बताए ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेलगत्तै राज्य आतंकतर्फ उन्मुख भएको ठहर गरेको छ । एमालेले वर्तमान सरकारबाट संविधान, लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको दाबी समेत गरेको छ ।
सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न एमालेले सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरेको छ । महासचिव पोखरेलका अनुसार पार्टीले यस कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको छ र यसको डटेर सामना गर्ने रणनीति तय गरेको छ ।
