कांग्रेस कलह : देउवा समूहको तारन्तर बैठक

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो फेरि सतहमा आएको छ। १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको शेरबहादुर देउवा समूहको बैठक आज मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु हुँदैछ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन नहुँदै तत्कालीन संस्थापन समूहले आगामी वैशाखका लागि १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेको पृष्ठभूमिमा इतर समूहले आफ्ना एजेन्डाहरू तय गरेको हो।

बिहान ११ बजे सुरु हुने दुई दिने बैठकमा मुख्य तीन वटा विषयमा छलफल हुने निवर्तमान एक केन्द्रीय सदस्यले जानकारी दिए। उनका अनुसार बैठकले फागुन २१ गते सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाममाथि गम्भीर समीक्षा गर्नेछ।

यस्तै, १५ औं महाधिवेशनको कार्यतालिका, महाधिवेशनको तयारी र सम्भावनाबारे पनि इतर समूहले रणनीति बनाउने तयारी गरेको छ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा आगामी २८-३१ वैशाखका लागि १५ औं महाधिवेशनको कार्यतालिका पेस गरेका थिए। सो कार्यतालिका तत्कालीन कार्यसमितिबाट पारित भएको थियो।

महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापनइतर समूहले असन्तुष्टि जनाउँदै आएको छ। विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई पूर्ण कार्यकाल काम गर्न नदिने उद्देश्यले महाधिवेशनको कार्यतालिका ल्याइएको इतर समूहको आरोप छ। आजको बैठकले महाधिवेशनको कार्यतालिकालाई लिएर ठोस निर्णय लिने सम्भावना छ।

संस्थापनइतर समूहले चैत १९ गते जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी गरेको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा जिल्ला सभापतिहरूको भेलाले पार्टीभित्रको समीकरणलाई थप प्रभावित पार्न सक्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *