हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न भागमा आज मंगलबार पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएकाले मौसममा फेरबदल आएको विभागले जनाएको छ।  मौसमविद् विनोद पोखरेलका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली हुने देखिन्छ।

कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *