एसईई : कोशीमा ८० हजारभन्दा बढी परीक्षार्थी

विराटनगर । आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी कोशी प्रदेशमा अन्तिम चरणमा पुगेको छ।

परीक्षालाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न प्रदेशभर व्यापक तयारी गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

उनका अनुसार परीक्षा केन्द्र व्यवस्थापन, सुरक्षा र अनुगमनका लागि स्पष्ट निर्देशन जारी गरिएको छ। परीक्षा केन्द्रहरूमा स्वास्थ्य सुविधाका लागि नर्सको व्यवस्था गरिनेछ भने नर्स नभएका स्थानमा नजिकैका स्वास्थ्य संस्थासँग समन्वय गरिनेछ।

केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीहरूको छनोट तथा परिचयपत्र व्यवस्थापनको काम समेत सम्पन्न भइसकेको छ। परीक्षार्थीहरू अनिवार्य रूपमा विद्यालय पोसाकमा उपस्थित हुनुपर्नेछ भने मोबाइल र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक उपकरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यस वर्ष कोशी प्रदेशका ३३२ परीक्षा केन्द्रबाट कुल ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक र ४ हजार ९ सय ८० सुरक्षाकर्मी सहित ठूलो संख्यामा जनशक्ति परिचालन गरिने निर्देशनालयले जनाएको छ।

उत्तरपुस्तिकाको सुरक्षा र ढुवानीका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने सीसीटीभी जडान भएका विद्यालयलाई प्राथमिकता दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *