सुहाङको सुझाव, ‘इलामको कृषि र पर्यटनबाट देशकै अर्थतन्त्रमा सहयोग’
काठमाडौं । इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको प्रचुर सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ब्रिफिङ गरेका छन्।
सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूलाई बोलाएर आयोजना गरेको छलफलमा नेम्वाङले आफ्नो क्षेत्रका समस्या र समाधानका उपायबारे धारणा राखेका हुन्।
नेम्वाङले इलामको कृषि र पर्यटन क्षेत्रलाई मात्रै व्यवस्थित गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने दाबी गरे। ‘इलामको कृषि र पर्यटनलाई ध्यान दिन सकियो भने देशकै अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्न सकिन्छ,’ उनले प्रधानमन्त्रीसमक्ष भने, ‘यसका लागि बीउदेखि बजारसम्म सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ।’
कृषि र पर्यटनका अतिरिक्त उनले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा र प्रविधिको क्षेत्रमा भोग्नुपरेका समस्याबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। विशेषगरी दमक-चिसापानी सडकखण्डको ठेक्का विवाद र अदालतबाट मेलमिलापका लागि पठाइएको विषयमा जानकारी गराउँदै उनले तुरुन्तै ठेक्का प्रक्रिया अघि बढाउन माग गरे।
त्यस्तै, बेलासे सडकखण्डको जीर्ण अवस्था र यसअघि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भ उल्लेख गर्दै उनले हालको वस्तुस्थितिबारे प्रधानमन्त्री शाहलाई विस्तृत विवरण बुझाएका छन्। प्रधानमन्त्री शाहले सांसदहरूबाट आएका यी समस्यालाई बजेट र प्राथमिकताका आधारमा सम्बोधन गर्ने आश्वासन दिएका छन्।
