सांसदहरूले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले एक सूचना जारी गर्दै निर्वाचित सांसदहरूलाई तोकिएको समय सीमाभित्र सम्पत्ति विवरण दर्ता गराउन भनेको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण बुझाउनुपर्ने प्रावधान छ। सोही कानुनी व्यवस्थालाई स्मरण गराउँदै सचिवालयले आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक विवरण माग गरेको हो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ लिएको मितिले ६० दिनको समय सीमाभित्र विवरण बुझाउनुपर्ने भएकाले जेठ १० गतेसम्मको अन्तिम मिति तय गरिएको सचिवालयले जनाएको छ।
सांसदहरूले आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा स्पष्ट विवरण खुलाएर संघीय संसद सचिवालयको भवन नं. १ स्थित कोठा नं. २०७ मा कार्यालय समयभित्र दर्ता गराउनुपर्नेछ। तोकिएको समयमा विवरण नबुझाउने सार्वजनिक पदधारी व्यक्तिलाई कानुन बमोजिम जरिवाना तथा अन्य कारबाही हुने व्यवस्था छ।
