ओली र लेखक कम्तीमा ५ दिन हिरासतमै रहने
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।
शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो। उनीहरूमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा किशोरहरूमाथि घातक हतियार प्रयोग गरी गोली चलाउने आदेश दिएको गम्भीर आरोप छ। सो प्रदर्शनका क्रममा देशभर ७६ जनाको मृत्यु भएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले ओली, लेखक र तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सोही प्रतिवेदनका आधारमा प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’ मा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए। मन्त्रिपरिषद्को निर्णय बमोजिम आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीकहाँ पठाइएको हो।
आयोगले केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई मुद्दा चलाउन सिफारिस गरे पनि सरकारले सुरक्षा निकायका प्रमुखहरूको हकमा भने छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ।
केन्द्रीय सुरक्षा समितिमा गृह सचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहने व्यवस्था छ।
