छानबिन प्रतिवेदन कार्यान्वयनलाई तीव्र बनाइँदै

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन काठमाडौँ प्रहरीको हातमा पुगेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै अब कार्यान्वयनको प्रक्रिया अघि बढ्ने बताए। “हामीकहाँ प्रतिवेदन आइपुगेको छ, अब हामी यसलाई कानुनी रूपमा कार्यान्वयन गर्ने चरणमा जान्छौँ,” एसपी भट्टराईले भने।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आन्दोलनमा भएको हत्याको घटनामा जिम्मेवार ठहर गर्दै ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखकलाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिइएको थियो।

आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुख र अन्य अधिकारीहरूको हकमा पनि छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ। प्रहरीले अब प्रतिवेदनका बुँदाहरूलाई आधार बनाएर थप अनुसन्धान र अभियोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *