देउवाको सम्पत्तिमाथि अनुसन्धान सुरु: बूढानीलकण्ठ निवास भत्काउन रोक
काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारका सदस्यहरूको सम्पत्तिमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका क्रममा देउवा परिवारको सम्पत्ति विवरण संकलन गर्ने कार्य सुरु भएसँगै प्रहरीले बूढानीलकण्ठस्थित देउवा निवासको संरचना भत्काउन रोक लगाएको छ।
सत्ताको आडमा अस्वाभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
प्रमाण नष्ट हुन सक्ने आशंकामा निवास परिसरमा भइरहेको निर्माण तथा भत्काउने कार्यमा रोक लगाइएको गृह मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा पछिल्लो डेढ वर्षमा देउवापुत्र जयवीर देउवा र उनका नजिकका नातेदारका नाममा किनिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ।
यस्तै, प्रदीपशमशेर जबरा र भूषण राणामार्फत जयवीरको खातामा भएको आर्थिक कारोबारको समेत खोजी भइरहेको छ।
सम्पत्ति शुद्धीकरण विभागका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादास्पद निर्णयपछिको कारोबारबारे छानबिन भइरहेको छ।
जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आगजनी र क्षति पुगेको थियो। केही दिनदेखि क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको भए पनि अनुसन्धानमा असर पर्ने र प्रमाण लोप हुने देखिएपछि उच्च अधिकारीहरूको निर्देशनमा उक्त कार्य रोक्का गरिएको हो।
