कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गरिने
काठमाडौँ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो।
साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गर्न यो कदम चालिएको सरकारले जनाएको छ।
परीक्षाको साटो बालबालिकाको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने र उनीहरूको सिर्जनात्मक क्षमताको मूल्याङ्कन गर्ने वैकल्पिक विधिको खोजी गरिनेछ।
सरकारको यो निर्णयले प्राथमिक तहका लाखौँ विद्यार्थी र अभिभावकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। शिक्षाविद्हरूले पनि सानै उमेरमा लिइने औपचारिक परीक्षाले बालबालिकाको चौतर्फी विकासमा अवरोध पुर्याउने भन्दै यसको विकल्प खोज्नुपर्ने बताउँदै आएका थिए।
