ओली र लेखकलाई आज अदालत पेस गरिँदै

काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज आइतबार अदालत पेस गर्दैछ। शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आज मात्रै अदालत लैजान लागिएको हो।

प्रहरीले दुवै नेतालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमार्फत जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ।

कानुनी व्यवस्था अनुसार उनीहरूलाई २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने भए पनि त्यसका लागि अदालतले स्वीकृति दिनुपर्ने हुन्छ।

पक्राउ परेपछि ओलीलाई अस्पताल भर्ना गरिएको छ। लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विषयमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा प्रहरीले उनीहरूलाई शनिबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो।

कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरबाहीका कारण आन्दोलनमा मानिसहरूको मृत्यु भएको ठहर गर्दै उनीहरूविरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले यो कदम चालेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *