सरकारको दिनगन्ती सुरु : एमाले सचिव बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आइतबार देशभरका जिल्ला सदरमुकामहरूमा सशक्त र प्रतिरोधात्मक आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँको माइतीघरमा एमाले कार्यकर्ता र प्रहरीबीच भएको झडपपछि बस्नेतले यस्तो घोषणा गरेका हुन्।

प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको आरोप लगाउँदै बस्नेतले वर्तमान सरकारको ‘प्रतिशोधपूर्ण’ राजनीतिले मुलुकलाई गृहयुद्धतर्फ धकेल्न खोजेको दाबी गरे। “यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ,” बस्नेतले भने, “आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसङ्गठनहरूको आन्दोलन निरन्तर रहनेछ।”

उनले बालेन शाह नेतृत्वको सरकार र गृहमन्त्री सुधन गुरुङलाई ‘कथित’ को संज्ञा दिँदै ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। “पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। तिमीहरूको गलत निर्णयले दुई तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ,” उनले थपे।

बस्नेतले वर्तमान सत्तापक्षलाई लक्षित गर्दै प्रश्न गरे, “के देशलाई पाकिस्तानी, बङ्गलादेश वा युक्रेन-कुन मोडलतर्फ लैजाँदै छ? हिजो सरकारी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई दमन भयो भन्नेहरू नै आज शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्?” उनले घाइते कार्यकर्ताको तत्काल उपचार र पक्राउ परेकाहरूको रिहाइको माग समेत गरेका छन्।

एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा मान्दै आइतबारदेखि आन्दोलनलाई थप उचाइमा पुर्‍याउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *