ओली-लेखक पक्राउको स्वागत, थप दोषीलाई पनि समात्न माग
काठमाडौँ । जेन-जी मुभमेन्ट नेपालले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउने सरकारको कदमको स्वागत गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै उक्त सङ्गठनले सरकारको यो निर्णयले न्यायको आशा जगाएको बताएको हो।
आन्दोलनका क्रममा भएको दमनमा संलग्न तत्कालीन गृह प्रशासन र सुरक्षा निकायका अन्य जिम्मेवार अधिकारीहरूलाई पनि तत्काल पक्राउ गर्न मुभमेन्टले माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “घटनामा प्रत्यक्ष संलग्न सुरक्षा निकायका व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन र कानुनी प्रक्रिया अगाडि बढाइयोस्।”
सङ्गठनले ओली र लेखकलाई बचाउन कुनै पनि प्रकारको राजनीतिक षड्यन्त्र वा दबाब भएमा आफूहरू चुप नबस्ने चेतावनी दिएको छ। यदि दोषीलाई उम्काउने प्रयास भएमा देशभरका युवाहरू थप सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन र दमनको आरोपमा प्रहरीले ओली र लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो।
