ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । प्रहरीले शनिबार पक्राउ गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा पेस गरिने भएको छ।

शनिबार सार्वजनिक बिदा परेकाले दुवै नेतालाई थुनामै राखेर अनुसन्धान गर्न म्याद थपका लागि भोलि जिल्ला अदालत काठमाडौँ लैजाने तयारी प्रहरीले गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ओली र लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा उपस्थित गराइनेछ। कानुनी व्यवस्थाअनुसार प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि बढीमा २४ दिनसम्म थुनामा राख्न अनुमति माग्न सक्छ। आइतबार अदालतले दिने आदेशका आधारमा मात्रै उनीहरूलाई कति दिन हिरासतमा राख्ने भन्ने टुङ्गो लाग्नेछ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षतिका लागि ओली र लेखकलाई मुख्य दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि भक्तपुरका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको ‘फौजदारी लापरबाही र हेलचेक्र्याइँ’ का कारण बानेश्वर लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध पनि अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरिएको छ।

एमालेले यसलाई राजनीतिक प्रतिशोध भन्दै आन्दोलनको घोषणा गरिसकेको छ भने कांग्रेसभित्र पनि यस गिरफ्तारीलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राखी भद्रकाली र बबरमहल क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *