एमालेको आकस्मिक बैठक, देशभर आन्दोलनको तयारी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ। शनिबार बिहान साढे ८ बजे बस्ने गरी तय भएको उक्त बैठकले सरकारको कदमको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’ को संज्ञा दिएका छन्। सचिव बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले सुधन गुरुङ जस्ता ‘अनुभवहीन र अराजक’ व्यक्तिलाई गृहमन्त्री बनाएर लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई पक्राउ गरेकोमा कडा आपत्ति जनाएका छन्।
आफ्नै सुरक्षा चौकी र सरकारी सम्पदा जोगाउन नसक्ने प्रहरी प्रशासनलाई हजारौँको संख्यामा नेताहरू समात्न परिचालन गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
“प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ,” बस्नेतले कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। सचिवालय बैठक सकिएलगत्तै एमालेले सडक संघर्षका थप विस्तृत योजनाहरू सार्वजनिक गर्ने बताइएको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ को घटनामा ओली र लेखकलाई दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि सरकारले आज बिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस घटनाले मुलुकको राजनीतिमा नयाँ ध्रुवीकरण र तनाब पैदा गरेको छ।
