ओली-लेखक जिल्ला प्रहरी परिसरमा, सुरक्षा व्यवस्था कडा
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। शनिबार बिहान भक्तपुरका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएका दुवै जनालाई सुरक्षा घेराभित्र परिसर पुर्याइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार ओलीलाई भक्तपुरको गुण्डुस्थित उनको निजी निवासबाट र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिइएको हो। दुवै नेतालाई अहिले परिसरकै हिरासतमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई ‘फौजदारी लापरबाही’ को दोषी ठहर गरेको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने र दोषीलाई फौजदारी मुद्दा चलाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसँग रातभर छलफल गरी पक्राउको योजना बनाएका थिए।
आयोगको प्रतिवेदनमा भदौ २३ गते बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोलीबाट दर्जनौँ युवाको ज्यान जाँदा पनि राज्य प्रमुख र गृह प्रशासनले रोक्न ठोस पहल नगरेको उल्लेख छ। यस घटनालाई लिएर देशभरका युवा र अधिकारवादीले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।
अहिले जिल्ला प्रहरी परिसर भद्रकाली बाहिर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। दुवै नेताका समर्थक र कार्यकर्ताहरू भेला हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
