रमेश लेखक प्रहरी नियन्त्रणमा
काठमाडौँ । प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा उनलाई शनिबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
लेखकलाई भक्तपुरको कटुन्जेस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको पुष्टि उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले गरेका छन्। जेनजी आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही प्रतिवेदनले बुझाएको सिफारिस र दोषीहरूको सूचीका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै तत्कालीन गृहमन्त्री लेखकलाई पनि पक्राउ गरिएको हो।
आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोग र त्यसले निम्त्याएको क्षतिमा गृहमन्त्रीको हैसियतमा लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठाएको थियो। उनलाई अहिले थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
