ओली पक्राउ
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको मुख्य दोषी ठहर गर्दै प्रहरीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरे।
नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिइयो। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै अनुसन्धानका लागि लगेको छ।
जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप छ। प्रतिवेदनका अनुसार भदौ २३ गते बानेश्वरमा झन्डै चार घण्टासम्म सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा र दर्जनौँ युवा हताहत हुँदा पनि कार्यकारी प्रमुखको हैसियतमा ओलीले स्थिति नियन्त्रण गर्न वा ‘सिज फायर’ को आदेश दिन कुनै प्रभावकारी पहल गरेनन्।
दिउँसो १ बजे नै ठूलो मानवीय क्षति भइसकेको र अस्पतालहरू घाइतेले भरिइसक्दा पनि प्रधानमन्त्रीले रातको १० बजे मात्र राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुले उनको चरम उदासीनता पुष्टि हुने आयोगको ठहर छ। आयोगले ओलीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।
यसअघि आयोगसमक्ष दिएको बयानमा भने ओलीले आफूमाथि लागेका आरोपको खण्डन गरेका थिए। उनले सुरक्षा निकायलाई जनधनको क्षति कम गर्न निर्देशन दिने गरेको दाबी गर्दै फिल्डको कमान्ड र विस्तृत जिम्मेवारी गृह मन्त्रालयको हुने जिकिर गरेका थिए।
