कोमल वलीका बुबाको छतबाट खसेर निधन
काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको ८५ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर उनको निधन भएको हो।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुबाको ‘महाप्रस्थान’ भएको दुखद जानकारी दिएकी छन्। वलीका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका ललितबहादुर दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए। उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन्।
उनका सातवटा मौलिक गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन्। गायिका कोमल वलीका कैयौँ भिडियोहरूमा मोडलिङ समेत गरेका ललित आफैँ पनि कुशल गायक थिए। छोरी कोमलले बुबाका केही थप गीतहरू रेकर्ड गरिदिने योजना बनाइरहेकै समयमा यो अकल्पनीय घटना भएको छ।
ललितबहादुर दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुर जस्ता संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए। ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ। केही समयअघि पत्नीको निधन भएपछि उनी मानसिक रूपमा केही विक्षिप्त रहेको पारिवारिक स्रोतले जनाएको छ।
