१५ सदस्यीय मन्त्रिपरिषद् : कसले कुन मन्त्रालय पाए?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। शपथ ग्रहणलगत्तै प्रधानमन्त्री शाहले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिँदै कार्यविभाजन गरेका हुन्। प्रधानमन्त्री शाहले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ। सुदन गुरुङले गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् भने विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सुम्पिएको छ।
अन्य मन्त्रीहरूमा प्रतिभा रावलले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्। महोत्तरीका दीपक साहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई दिइएको छ भने खड्क (गणेश) पौडेल पर्यटन मन्त्री बनेका छन्।
मन्त्रिपरिषद्मा महिला नेतृत्वलाई पनि प्राथमिकता दिइएको छ। सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ। युवा र विज्ञहरूको बाहुल्यता रहेको यस मन्त्रिपरिषद्बाट जनताले उच्च कार्यसम्पादनको अपेक्षा गरेका छन्।
