र्यापर र मेयर हुँदै देशको शक्तिशाली प्रधानमन्त्रीसम्म
काठमाडौँ । र्यापर, इन्जिनियर र समाजसेवी बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल एउटा राजनीतिक पद प्राप्ति मात्र होइन, बरु एउटा ठूलो आन्दोलन, निरन्तरको सङ्घर्ष र परिवर्तनको कथा पनि हो ।
नेपाली राजनीतिको वर्तमान नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचको पर्यायका रूपमा लिइन्छ । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत दिएका कडा अभिव्यक्तिका कारण उनी चर्चा र आलोचनाको केन्द्रमा रहेका थिए । त्यसबेला कतिपय पुराना नेताहरूले उनलाई ‘लुसिफर’को संज्ञासमेत दिएका थिए ।
र्याप सङ्गीत, इन्जिनियरिङ र सामाजिक सञ्जालको प्रभावशाली प्रयोगमार्फत युवा पुस्ताको ढुकढुकी बनेका बालेनले काठमाडौँ महानगरपालिकाको मेयरको कार्यकाल पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए । काठमाडौँको भीडभाड र परम्परागत राजनीतिक प्रणालीबाट निराश नागरिकका माझ सुधारका लोकप्रिय काम गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर जित्दा उनका मुख्य एजेन्डा भ्रष्टाचार विरोध, पारदर्शिता, स्मार्ट सिटी र सडक व्यवस्थापन नै थिए ।
बालेनको जन्म २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा बुबा डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट भएको हो । उनको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा पर्दछ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ सालको महाभूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय भएर उनले समाजसेवीको रूपमा पनि आफूलाई स्थापित गरेका थिए ।
सङ्गीतमा सानैदेखि रुचि राख्ने शाहले कक्षा ९ मा पढ्दा नै आफ्नो पहिलो गीत ‘सडक बालक’ लेखेका थिए । उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत पछिल्लो निर्वाचनमा निकै चर्चित बन्यो । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिएलगत्तै उनको ‘जय महाकाली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
मेयरका रूपमा उनले काठमाडौँमा सडक सुधार, पार्क निर्माण र डिजिटल सेवा विस्तारमा उल्लेख्य काम गरे । उनको सिधा संवाद गर्ने शैली र जवाफदेहिताले नागरिकमा उनीप्रतिको भरोसा बढाएको थियो । उनी ‘जेनजी’ आन्दोलनका एक सक्रिय अभियन्तासमेत थिए, जसले युवा अधिकार र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेको थियो ।
अन्तर्मुखी तर कडा प्रशासकको छवि बनाएका बालेनले काठमाडौँको मेयर पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका थिए । उनले झापा क्षेत्र नं. ५ बाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । फागुन २१ को निर्वाचनमा रास्वपाले १८२ सिटसहित स्पष्ट बहुमत पाएपछि उनी देशको शक्तिशाली प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल भएका छन् । शुक्रबार रामनवमीको शुभ साइत पारेर शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । (नेपाल न्युज बैंक)
