कार्की आयोगको प्रतिवेदनलाई केपी ओलीले भने- ‘भद्दा नाटक’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रहपूर्ण’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन्।
बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोगले आफूविरुद्ध गरेको कारबाही सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक दबाब दिने कुत्सित प्रयास भएको आरोप लगाए।
आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर गरेको सिफारिसप्रति आपत्ति जनाउँदै ओलीले प्रधानमन्त्री पदमा बसेकै आधारमा अपराधीकरण गर्न खोजिएको बताए।
“प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने? यो अत्यन्तै स्तरहीन क्रियाकलाप र आयोगले गरेको कू-कर्म हो,” उनले भने। उनले कतै ठाउँ नपाएपछि नमिल्ने दफाहरू प्रयोग गरेर आफूलाई बदनाम गराउन खोजिएको दाबी गरे।
अध्यक्ष ओलीले घटनामा प्रत्यक्ष संलग्नता नभएको व्यक्तिमाथि लापरवाहीको अभियोग लगाउन नमिल्ने जिकिर गरे। “दफा १८१ र १८२ का लागि घटनास्थलमा व्यक्ति उपस्थित हुनुपर्छ र उसैबाट घटना घटेको हुनुपर्छ। प्रधानमन्त्रीले न गोली चलाउँछ, न आदेश दिन्छ,” उनले थपे, “न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने हुँदैन। यो केवल चरित्र हत्या गर्ने र घृणाको राजनीति फैलाउने प्रयास मात्र हो।”
ओलीले उक्त प्रतिवेदन निन्दनीय, खेदजनक र पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र सुरक्षा प्रमुखहरूलाई फौजदारी लापरवाहीको अभियोगमा कारबाही गर्न सिफारिस गरेपछि एमाले नेतृत्व रुष्ट बनेको छ।
