‘प्रतिपक्षमा बसेर सरकारलाई सघाउँछौं’

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्कराज राई (हर्क साम्पाङ) ले आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्।

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुगेका साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।

सांसद साम्पाङले प्रतिपक्षमा रहनुको अर्थ केवल विरोध मात्र नभई सरकारलाई सही बाटोमा हिँडाउन प्रश्न गर्ने र सघाउने भएको उल्लेख गरे।

“हामी प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्ने छौँ र सहयोग पनि गर्ने छौँ। सरकारले गर्नुपर्ने जनहितका काममा हाम्रो समर्थन रहन्छ, हामी देशलाई सघाउने पक्षमा छौँ,” उनले भने। उनले प्रतिपक्षको खबरदारीले सरकारको कार्यशैली सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको विषयमा टिप्पणी गर्दै साम्पाङले राजनीति गर्ने व्यक्तिले उच्च पदको लक्ष्य राख्नु स्वाभाविक भएको बताए।

“राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्नुपर्छ, यसलाई अन्यथा मान्नुहुँदैन,” उनले थपे, “जनताले निर्वाचनमार्फत जे निर्णय गर्नुभयो, त्यसलाई हामीले सहर्ष स्वीकार र सम्मान गर्नुपर्छ।” धरानको मेयर पद छाडेर सांसद बनेका साम्पाङले अब केन्द्रबाटै जनताका मुद्दा मुखरित गर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *