प्रतिनिधिसभाका २७४ सांसदले लिए शपथ
काठमाडौँ। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद् भवनको हलमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।
समारोहमा नवनिर्वाचित सांसदहरू आ-आफ्नो जातीय तथा सांस्कृतिक पहिचान झल्किने थरीथरीका भेषभूषामा सजिएर उपस्थित भएका थिए। यसअघि ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिनका लागि संसद् सचिवालयमा निवेदन दिएका थिए। सोही अनुसार उनीहरूले विभिन्न भाषामा शपथ लिएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ मा निर्वाचित सदस्यले सदन वा कुनै समितिको बैठकमा सहभागी हुनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। ज्येष्ठ सदस्य केसीलाई भने बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए।
आज शपथ लिएका सांसदहरू भोलि हुने नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण प्रक्रियामा सहभागी हुनेछन्। संसद् सचिवालयले अबको केही दिनमा सभामुख र उपसभामुख चयनको प्रक्रिया पनि अघि बढाउने जनाएको छ।
