६३ सांसदले मातृभाषामा शपथ लिँदै

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमध्ये ६३ जनाले आज बिहीबार मातृभाषामा पद तथा गोपनीयताको शपथ लिँदै छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ती सांसदहरूले नेपालीबाहेकका विभिन्न मातृभाषामा शपथ लिने प्रयोजनका लागि इमेल र भौतिक रूपमा उपस्थित भएर जानकारी गराएका हुन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा तय गरिएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिइसकेका छन्।

सांसदहरूको शपथसँगै मुलुकले भोलि नयाँ प्रधानमन्त्री पाउने तालिका छ। चैत ५ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेपछि सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै छन्। शाहले भोलि नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

आजै रास्वपाले शाहलाई आफ्नो संसदीय दलको नेता चयन गर्ने र त्यसपछि प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ। नयाँ सरकार गठनसँगै मन्त्रालयको सङ्ख्या घटाउने र सार्वजनिक खर्च पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *