बालेनलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहीबार अपराह्न ४ बजे बस्दैछ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने औपचारिक निर्णय गर्ने तयारी गरेको छ।
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण लगत्तै रास्वपाले यो बैठक बोलाएको हो। केन्द्रीय समितिबाट बालेनलाई संसदीय दलको नेता चयन गरेपछि पार्टीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्नेछ।
रास्वपा र बालेनबीच चुनावअघि नै भएको सहमति अनुसार उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको थियो।
संसदीय दलको नेता चयनको प्रक्रिया पूरा भएपछि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भइसकेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेपछि बालेन देशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो। बालेनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले विजय हासिल गरेका थिए।
यो ऐतिहासिक राजनीतिक परिवर्तनसँगै बालेन नेपालको पहिलो मधेशी मूलको र सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्नेछन्।
